
भक्तपुर, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उम्मेदवारमा नेकपा एमालेका सचिव महेश बस्नेत एकल सिफारिसमा पर्नु भएको छ ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी सचिव महेश बस्नेतको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
एमालेको तर्फबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठको समेत उम्मेदवारी दाबी रहेपनि समितिको बैठकले उक्त क्षेत्रबाट राजथला र श्रेष्ठले आफ्नो दाबी छाडेर आफूलाई सर्वसम्मत उम्मेदवारी बनाएको सचिव बस्नेतले जानकारी दिनुभयो । सचिव बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफासिका लागि एमाले जिल्ला अध्यक्ष देउजाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । एमाले नेता राजथलाले भने देश निर्वाचनमय भएकाले जसले टिकट पाएपनि पार्टीलाई विजयी बनाउँन एक ढिक्का भएर लाग्ने बताउनुभयो ।
भक्तपर क्षेत्र नं. १ मा भने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ बाट एमालेका पूर्वकेन्द्रीय सदस्य सोमप्रसार मिश्र, सरस्वती वाटी, दिपेश खड्का, राजकुमार लामिछाने ‘चमत्कार’, डा. राजेन्द्र कोजू र रबिन्द्र लाछिमस्यु गरि ६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाटै नेता निर्मल भट्टराई र गोविन्द दुलालले पनि उम्मेदवारी दाबी गरेकोमा एमाले भक्तपुर क्षेत्र नं. १ कमिटीले आफ्नो क्षेत्र बाहेक अन्य क्षेत्रबाट अएकालाई नस्विकार्ने निर्णय गरेपछि ६ जनाको नाम सिफारिस भएको कमिटीले जानकारी दिएको हो ।
प्रत्यक्षतर्फ यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय गरेपछि जिल्ला जिल्लाबाट उम्मेदवारको नाम छनौट गरि सिफारिस गर्ने कार्य तिब्र रुपमा भइरहेको छ ।
Related






