
भक्तपुर, २ माघ । नेपालकै दोश्रो अर्थात बीर अस्पताल पछि स्थापना भएको भक्तपुर अस्पतालले स्थापनाको १२१ वर्षपछि ६२ करोडको लागतमा सुबिधा सम्पन्न नयाँ भवन पाउने भएको छ ।
विगत तीन वर्षदेखि देशभरका सात प्रदेशका अस्पताल मध्ये उत्कृष्ट अस्पताल घोषित हुदै आएको भक्तपुर अस्पतालले अब नयाँ सुविधा सम्पन्न अस्पताल भवन पाउने सुनिश्चित भएको वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो ।

भक्तपुर अस्पताल यहाँको नागरिकको मात्रै नभई भक्तपुरदेखि काठमाडौं, ललितपुरका बिरामीहरूलाई पनि ठूलो राहत मिल्ने गरेको बताउदै उहाँले काभ्रेपलाञ्चोकदेखि पूर्वका धेरै जिल्लाबाट आउने विरामीको उपचारको प्रस्थान बिन्दुका रुपमा भक्तपुर अस्पताल रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “वाग्मती प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ६२ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण गर्ने निश्चित गरेको छ । भक्तपुर अस्पताललाई वाग्मती प्रदेशकै नमुना अस्पताल बनाउने उदेश्यले हामीले निकै मिहेनतका साथ बजेट सुनिश्चित गरेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत पारित गरेका छौँ, अब जतिसक्दो छिटो नयाँ भवन निर्माण सम्पन्न गरि अस्पतालको क्षमतामा गुणात्मक र मात्रात्मक रुपमा सेवा बिस्तार गर्ने गरि तयारी गरेका छौं ।”

उहाँले अस्पतालको नयाँ भवन वातावरण मैत्री, प्रविधि मैत्री, भूकम्प प्रतिरोधी डिजाइनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार भक्तपुरको पुरानो एवं परम्परागत शैलीमा भवन निर्माण गरिने छ । विरामी र सेवाग्राहीलाई सहज हुने गरी अस्पतालको नयाँ भवनमा प्रतीक्षालय, अपाङ्ग मैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिने भएको जानकारी दिदै उहाँले भवन निर्माणसंगै अस्पतालमा मुटु तथा न्यूरो सम्बन्धी विशेषज्ञ सेवासमेत विस्तार गरिने मन्त्री थापाले बताउनुभयो ।
प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले वाग्मती प्रदेश मध्ये भक्तपर अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएको र देशभरका विरामीको उपचारका लागि उचित गन्तव्यको रुपमा नमूना अस्पताल निर्माण गर्न वागमती प्रदेश सरकारले अस्पतालको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गरिने पूर्वाधार लगानीले समाज र अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उहाँले निर्माण प्रक्रियामा पारदर्शिता, गुणस्तर र जवाफदेहितामा कुनै सम्झौता नहुने बताउनुभयो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले भक्तपुर नयाँ निर्माण हुने भक्तपुर अस्पतालको भवनमा अत्याधुनिक एवं आकस्मिक कक्ष, आइसियु कक्ष, एनआइसियु, प्रसूति तथा स्त्री रोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा समेत विस्तार गर्नेगरि प्रविधियुक्त सेवा विस्तार गरिने बताउनुभयो ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भन्नुभयो, “अस्पतालको डिपिआर अनुसार निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइनेछ, निर्भारित समय भित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूले यस योजनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नयाँ भवन निर्माणपछि भक्तपुर अस्पताल प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा स्थापित हुने लिएका छाँ ।”

यसबारेमा भक्तपुर अस्पतालमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतको टोलीसहितले नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा रहेको भवनको वास्तुकलात्मक डिजाइन, सेवा विस्तारको खाका, लागत व्यवस्थापन, निर्माण प्रक्रिया र समयसीमालगायतकाबारे छलफल गरेको अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले नयाँ जमिन नभएपछि अस्पतालको हाल प्रशासन र अन्तरंग सेवा सञ्चालन भइरहेको पुरानो भवन र भवनसंगैको जग्गामा नयाँ भवन निर्माण हुने तया भएको जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले भक्तपुर अस्पताल यहाँ आउने विरामीको आशा र भरोसाको केन्द्र भएकाले यहाँबाट जाने कुनै पनि विरामीले उपचार पाएर खुसी भएर फकर्किन वातावरण बनाउनु पर्ने बताउनुभयो ।

Related







