
भक्तपुर, २ फागुन : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कोमामा रहेको संविधानलाई ब्युझाउनको लागि फागुन २१ को निर्वाचन अनिवार्य रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटिले आज बालकोटमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सम्बोधन गर्दै महामन्त्री घिमिरेले जेनजी आन्दोलन पछि सृजना भएको विषम परिस्थितिमा गठन गरेको सरकारको नेतृत्वले ६ महिनाभित्र तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने बाटो तर्फ उन्मुख भएको भन्दै सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
फागुन २१ को निर्वाचन शान्ति चाहने, स्थिरता चाहने, उज्यालो र देशलाई दिगो शान्ति चाहनेहरु र अस्थिरता चाहने अशान्ति चाहनेहरूबीचको जनमत संग्रहको रूपमा आफूले लिएको उहाँले बताउनु भयो ।

महामन्त्री घिमिरेले जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नेपाली काग्रेसले सम्बोधन गर्दै विशेष महाधिवेशन मार्फत गगन थापाको नेतृत्वको नेपाली कांग्रेसमा रुपान्तरण गरेको बताउनु भयो । उहाँले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसका सबै नेता तथा कार्यकर्ताले १६५ वटै निर्वाचन क्षेत्रमध्ये १६४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो ।
महामन्त्री घिमिरेले नेपाली काग्रेसले एक वर्षभित्र नियमित महाधिवेशन गराउने भन्दै विशेष महाधिवेशन विषम परिस्थितिमा गर्नुपर्ने बाध्यता आइपरेको समेत बताउनुभयो । उहाँले अग्रज नेताहरूलाई सम्मान रहेको समेत बताउदै संसद भ्युटाउन र संविधान जोगाउनको लागि यो फागुन २१ गतेको निर्वाचन अनिवार्य रहेको समेत उहाँको भनाइ थियो ।
२४ गतेको जिन्जी आन्दोलनले विश्वलाई नयाँ पाठ सिकाएको बताउदै उहाँले नयाँ पुस्ताले चाहेमा जे पनि हुनसक्छ भन्ने उदाहरण जिन्जी पुस्ताको आन्दोलन भएको बताउनुभयो । ०६२÷०६३ को जनआन्दोलनमा दुई थोपा आँसु नबगाउनेहरू अहिले आएर जे पायो त्यही बोलिरहेको समेत उहाँको आरोप थियो ।
Related






