
भक्तपुर, १९ फागुन : निर्वाचन नजिकिदै गर्दा आज प्रहरीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियार, चार राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको बिशेष टोलीले आज गोरखा पालुङटार नगरपालिका–९ घरभई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईलाई प्रहरीले बस्दै आएको घरबाट पक्राउ गरेको हो ।
सेढाईको कोठा साथबाट प्रहरीले ‘ए ८८९६’ नम्बरको एस.एल.आर. इन्सास राईफल एक थान, राईफलको ४ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
प्रहरीले सेढाईको कोठामा छापामारी प्लास्टिक एक राउण्ड, सटगनमा लाग्ने एक राउण्ड गोली, खुकुरी एक थान, खुकुरीको दाप दुई थान, बञ्चरो एक थान र लागू औषधमा प्रयोग गर्ने सिरिन्ज पाँच थान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरीको सादा पोशाकमा खटिएका प्रहरीले केही महिनादेखि सेढाईको गतिबिधि प्रति निगरानी गरेको, सेढाईले स्थानीयलाई पटक पटक धम्की दिदै आएको, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त जगाती भक्तपुरबाट लुटेको हतियार भएको पाईएको । प्रहरी बृत्त जगातीको हिरासतमा राखी सेढाईमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
Related






