हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवाद : ‘इतिहास, समाज र संस्कृति’माथि बहस

3 मिनेट

भक्तपुर । मानवशास्त्री डा। सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। बुक क्लब, भक्तपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा इतिहासको स्वरूप, ज्ञान उत्पादन, संस्कृति, पहिचान र विकासका प्रश्नहरूलाई लिएर बौद्धिक बहस गरिएको थियो।

कार्यक्रममा बोल्दै डा। सुरेश ढकालले ‘मान्छे’लाई बुझ्न केवल जैविक आधार पर्याप्त नहुने उल्लेख गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भलाई सँगै विश्लेषण गर्नुपर्ने धारणा राखे। उनले इतिहासलाई विगतको स्थिर अभिलेखका रूपमा नभई वर्तमान समाज बुझ्ने सशक्त उपकरणका रूपमा व्याख्या गरे। “इतिहास कसले लेख्छ र कसको कथा छुट्छ भन्ने प्रश्न सधैं शक्ति र राजनीतिसँग गाँसिएको हुन्छ”, उनले भने ।

नेपालको इतिहास लेखनबारे चर्चा गर्दै उनले अझै धेरै ‘ग्याप’ रहेको औंल्याए। विशेषगरी सीमान्तीकृत समुदायका अनुभव र आवाजहरू मुख्यधारको इतिहासमा समेटिन नसकेको उनको भनाइ थियो।

कार्यक्रममा उनको कृति “इतिहास अधिको इतिहास” को सन्दर्भमा समेत विस्तृत छलफल गरिएको थियो। उक्त कृतिको वैचारिक पृष्ठभूमिबारे प्रकाश पार्दै उनले इतिहासलाई पुनर्विचार गर्ने, स्थापित मान्यतामाथि प्रश्न उठाउने प्रयास भएको बताए। स्रोत सामग्रीमा अंग्रेजी सामग्रीको बाहुल्य देखिनु नेपाली ज्ञान उत्पादन संरचनाको कमजोरीसँग जोडिएको उल्लेख गर्दै उनले राज्यले अनुसन्धान तथा प्रकाशनका लागि आवश्यक वातावरण र लगानी अझै पर्याप्त रूपमा गर्न नसकेको धारणा राखे।
यसै क्रममा उनले नेपालको शिक्षा प्रणालीबारे पनि चिन्ता व्यक्त गर्दै शिक्षा सुधार र अनुसन्धान प्रवर्द्धनका लागि राज्यले अपेक्षित ध्यान दिन नसकेको दुखेसो पोखे।

विशेषगरी प्रागऐतिहासिक अध्ययन–अनुसन्धान अत्यन्त खर्चिलो, जटिल र समयसाध्य हुने भएकाले यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक पर्ने उनको भनाइ थियो। यस्ता अनुसन्धानमा प्राविधिक चुनौती मात्र नभई नीतिगत अस्पष्टता र कहिलेकाहीँ राजनीतिक स्वार्थसमेत जोडिने हुँदा अनुसन्धान कार्य थप जटिल बन्ने उनले उल्लेख गरे।

संस्कृति र आधुनिकताबीचको सम्बन्धबारे बोल्दै उनले परम्परा स्थिर नभई निरन्तर रूपान्तरण हुने प्रक्रिया भएको स्पष्ट पारे। ‘संस्कृति संरक्षण’का नाममा गरिने कृत्रिम प्रदर्शनभन्दा समुदायभित्र बाँचिरहेको जीवन्त अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।

उनले डिजिटल युगमा इतिहास र स्मृतिको स्वरूप तीव्र रूपमा बदलिँदै गएको उल्लेख गर्दै सामाजिक सञ्जालले इतिहास निर्माण र प्रसारणमा नयाँ अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए। साथै, इतिहास र पहिचानबीचको सम्बन्ध संवेदनशील हुने भएकाले यसले सामाजिक द्वन्द्व निम्त्याउने सम्भावनाप्रति सचेत रहनुपर्नेमा उनले जोड दिए।

भक्तपुर सन्दर्भमा बोल्दै डा। सुरेश ढकालले यस क्षेत्रलाई “जीवित सांस्कृतिक संग्रहालय”का रूपमा व्याख्या गरे। शहरीकरण र आधुनिकीकरणका प्रभावका बाबजुद पनि यहाँको सांस्कृतिक निरन्तरता उल्लेखनीय रहेको उनको भनाइ थियो। उनले भक्तपुरको समृद्धि र सामाजिक रूपान्तरणमा सफाइ अभियान र किसान आन्दोलनजस्ता स्थानीय पहलहरूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रम हरिसुन्दर छुकांले सञ्चालन गरेका थिए। कार्यक्रममा सुरेश बखुन्छेले लेखकको परिचय प्रस्तुत गरेका थिए भने दिनेश प्रधानले लेखकलाई मायाको चिनो प्रदान गरेका थिए।

अन्तरसंवादमा पत्रकार कृष्ण प्रजापति, संस्कृति तथा पुरातत्त्व अध्येता सृजना प्रजापति, शिक्षक केपी छुस्याकी, कृष्णप्रसाद सुवाल, सरोज गोसाईँ, विद्यार्थी राधिका बेकोजु, सुरेश परियारलगायतले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागी विद्यार्थी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूले मानवशास्त्र, इतिहास, संस्कृति र समाजसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए। अन्तरसंवादले ज्ञान आदानप्रदानका साथै समसामयिक मुद्दामाथि गहिरो बौद्धिक बहसको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस्ता अन्तरसंवाद कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।

तीन दशकभन्दा बढी समयदेखि मानवशास्त्रको अध्ययन, अनुसन्धान र अध्यापनमा सक्रिय डा। सुरेश ढकाल हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानवशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत छन्। उनले ‘पोलिटिकल एन्थ्रोपोलोजी’मा विद्यावारिधि गरेका छन् भने नर्वेको University of Bergen बाट एथ्नोआर्कियोलोजीमा एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट ‘इकोलोजी एन्ड सब्सिस्टेन्स’ र ‘डेभलपमेन्ट एन्थ्रोपोलोजी’मा स्नातकोत्तर गरेका छन्।

उनी सन् २०१० मा Cornell University मा वेनर–ग्रेन आईडीजी फेलो र सन् २०१६ मा Kyoto University मा भिजिटिङ रिसर्च फेलोका रूपमा पनि कार्य गरिसकेका छन्। उनकाLand and Agrarian Questions (२०१४), Peasant Studies in Nepal (२०२०) र Rural Unrest in Nepa (२०२१) जस्ता कृतिहरू प्रकाशित छन्। प्राज्ञिक क्षेत्रका अतिरिक्त उनी सीमान्तीकृत समुदायका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा पनि सक्रिय छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।