
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित विकट बस्ती खुमखानीमा खानेपानीको गम्भीर समस्या देखिएको छ। सोलार सिस्टममार्फत पानी तान्ने उपकरण बिग्रिएपछि पछिल्लो एक महिनादेखि स्थानीयवासी कष्टकर अवस्थाबाट गुज्रिरहेका छन्।

स्थानीय अमर घर्तीका अनुसार यसअघि माथिल्लो पँधेराबाट ‘लिफ्टिङ’ प्रविधिमार्फत पानी गाउँसम्म ल्याइन्थ्यो। तर मोटर बिग्रिएपछि अहिले गाउँमा पानी आउन बन्द भएको छ। यसका कारण ३५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्।
हाल स्थानीयवासीलाई दैनिक उपभोगका लागि करिब दुई घण्टा हिँडेर पँधेराको मुहानसम्म पुग्नुपर्ने बाध्यता छ। “मोटर बिग्रिएपछि गाउँमै पानी आउन छाडेको छ, अहिले टाढाबाट बोक्नुपरेको छ,” घर्तीले बताए।
खानेपानी अभावले गाउँमा बसोबास गर्नै कठिन बन्दै गएको स्थानीयको गुनासो छ। विगतमा पनि पानीकै समस्या कारण धेरै परिवार बसाइँ सरेको स्मरण गर्दै समस्या समाधान नभए पुनः गाउँ खाली हुने अवस्था आउन सक्ने उनीहरूको चिन्ता छ।
स्थानीय जितबहादुर थापाका अनुसार समस्या समाधानका लागि तुलसीपुर उपमहानगरपालिका र विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक ध्यान नदिएको आरोप छ। स्थानीयले सम्बन्धित निकायसँग तत्काल मर्मत र दीर्घकालीन समाधानको माग गरेका छन्।
Related







