
बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसान वर्षमा तीन बाली खेतीतर्फ आकर्षित भएका छन्। पहिले अकासे पानीमा निर्भर रहँदै बर्खेधानपछि खेत बाँझै राख्नुपर्ने बाध्यता रहे पनि अहिले त्यो अवस्था हट्दै गएको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार किसानले धान स्यहारेपछि आलु वा तोरी खेती गर्ने र त्यसलगत्तै वसन्ते मकै लगाउने अभ्यास बढ्दो छ। “सिँचाइको सुविधा पुगेपछि किसान तीन बालीतर्फ आकर्षित भएका छन्, जसले नगद आम्दानीसमेत बढाएको छ,” उनले बताए।
गहुँखेतीको तुलनामा आलु वा तोरी छिटो तयार हुने भएकाले त्यसपछि मकै खेती गर्न सहज हुने हुँदा तीन बाली प्रणाली प्रभावकारी बनेको उनको भनाइ छ। कृषि ज्ञान केन्द्रले सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रममार्फत वसन्ते मकैका लागि बीउ र प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ।
हाल बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँ २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५०० हेक्टर, आलु तीन हजार २५० हेक्टर, तोरी छ हजार ५३० हेक्टर र हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ।
सिक्टा सिँचाइ आयोजना सञ्चालनमा आएपछि नहरमा नियमित पानी उपलब्ध हुन थालेको छ, जसले खेती गर्न सहज बनाएको छ। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिइएकोमा हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ।
सिँचाइ नपुगेका क्षेत्रमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा बोरिङ वितरण गरेर सहयोग गरिरहेको छ।
अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीका अनुसार नियमित सिँचाइ उपलब्ध भएमा किसानले उत्पादन बढाएर आर्थिक समृद्धि हासिल गर्न सक्नेछन्।
Related







