
काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने विषयमा विद्यमान कानुन संशोधन गर्ने तयारी सुरु भएको छ।

बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याल ले विभिन्न दलका प्रमुख सचेतकहरूसँग यस विषयमा छलफल गरेका हुन्। छलफलमा सांसदहरूले कूटनीतिक राहदानी पाउनुपर्ने माग राखे पनि त्यसलाई कानुनी रूपमा कसरी सहज बनाउने भन्नेबारे केन्द्रित बहस भएको बताइएको छ।
खुश्बु ओली का अनुसार अहिलेको राहदानी ऐनअनुसार सरकारी काम वा विशेष जिम्मेवारीमा जाने तोकिएका पदाधिकारीले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था छ। तर सांसदहरू विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा हालको व्यवस्था पर्याप्त नभएको भन्दै त्यसलाई परिमार्जन गर्ने विषयमा छलफल भएको हो।
उनले ऐन र नियमभन्दा बाहिर गएर निर्णय गर्नुको सट्टा विद्यमान कानुनी व्यवस्थालाई संशोधन गर्ने विकल्पमा सहमति खोजिएको जानकारी दिइन्।
छलफलमा सहभागी दलका प्रतिनिधिहरूले आफ्नो-आफ्नो दलभित्र यस विषयमा थप छलफल गर्ने र पुनः सभामुखसँग समन्वय गर्ने सहमति भएको जनाइएको छ। साथै, संसद् सञ्चालन र सांसदहरूको समस्या समाधानमा सभामुखले सकारात्मक भूमिका खेलिरहेको प्रतिक्रिया पनि दिइएको छ।
Related







