
मन्थली (रामेछाप) – वैदेशिक रोजगारीमा वर्षौँ बिताएकी मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसी अहिले भने आफ्नै गाउँमा उदाहरणीय उद्यमी बनेकी छन्।

चार वर्ष बेलायत र ११ वर्ष दुबई तथा कतारमा काम गरेपछि उनले स्वदेश फर्केर आफ्नै केही गर्ने निर्णय गरिन्। अरूको काम गरिरहनुभन्दा आफ्नै गाउँमा केही सिर्जना गर्ने सोचका साथ उनले बाख्रापालन व्यवसाय सुरु गरेकी हुन्।
“अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ,” केसी भन्छिन्।
उनले बाख्रापालनका लागि करिब २० लाख रुपैयाँ लगानी गरी आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रापालनसँगै कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेतीसमेत गर्ने योजना रहेको उनले बताइन्।
विसं २०८१ मा गाउँ फर्किएर व्यवसाय सुरु गरेकी केसीले अहिलेसम्म कुनै सरकारी निकायबाट आर्थिक सहयोग नपाएको गुनासो गरिन्। तर मन्थली नगरपालिकाको पशु स्वास्थ्य शाखाबाट प्राविधिक सल्लाह भने पाइरहेको उनको भनाइ छ।
उनका बुबा चित्र केसी छोरीको निर्णयप्रति खुसी छन्। “मेरा पाँच छोरीमध्ये अरू सबै सहरमै छन्। वैदेशिक रोजगारी छाडेर गाउँमै कृषि र पशुपालनमा लागेकामा हामीलाई गर्व लागेको छ,” उनले भने।
यद्यपि गाउँमा नियमित रेखदेख गर्ने जनशक्ति अभावले उनलाई केही चुनौती दिएको छ। त्यसका बाबजुद पनि उनी आफ्नो काममा निरन्तर जुटिरहेकी छन्।
“सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन। हेरौँ कति सफल भइन्छ,” उनले आत्मविश्वासका साथ भनिन्।
Related







