
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने उक्त जात्रा आइतबार साँझ सम्पन्न भएको हो। करिब २ हजार ५०० वर्ष पुरानो मानिने यस जात्रामा देवी चण्डेश्वरीलाई रथमा राखी पुरानो बजार क्षेत्र परिक्रमा गराइ अन्तिम दिन मन्दिरमा पुनःस्थापना गरिन्छ।
जात्राको पहिलो दिन बिहानैदेखि घरघरमा देवीको पूजा गरिएको थियो। साँझ हनुमान ढोका बाट ल्याइएको तरबारसहित चण्डेश्वरी मन्दिरमा रहेका देवताहरूलाई १२ वटा बोका बलि दिँदै ‘सरकारी पूजा’ गरी जात्रा सुरु गरिएको थियो।
दोस्रो दिन बिहान हजारौँ भक्तजनको सहभागितामा जलेश्वर महादेव सम्म मत पूजा (चिराग यात्रा) गरिएको थियो। सोही दिन पाङ्ग्रा नभएको रथलाई भेडा बलि दिएपछि स्थानीय युवाले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै मन्दिरसम्म पुर्याएका थिए।
त्यसपछि तुलसीको काठबाट बनेको रथमा देवीलाई राखी नगर परिक्रमा गराइएको थियो। रथ फर्कने क्रममा स्थानीयले घरघरबाट झ्यालमार्फत प्रसाद चढाउने परम्परा पनि निभाइएको थियो।
तेस्रो दिन आइतबार साँझ लायकु हुँदै वकुटोलबाट देवीको मूर्ति सानो खटमा राखेर पुनः मन्दिरमा पुर्याएपछि जात्रा विधिवत रूपमा सम्पन्न भएको हो। त्यसअघि ‘कलंदान’ गर्ने परम्परा पनि पूरा गरिएको थियो।
विशेषगरी नेवार समुदायले मनाउने यो जात्रा बनेपाको सबैभन्दा ठूलो चाडका रूपमा चिनिन्छ। जात्राभर नगरमा सार्वजनिक बिदा दिइएको थियो भने घरघरमा भोज, भजन तथा टोलटोलमा धार्मिक गतिविधि सञ्चालन भएका थिए।
शक्तिकी अधिष्ठात्री देवीका रूपमा पूजिने चण्डेश्वरी भगवतीको दर्शन गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका छन्। ‘मागेको पुग्ने’ विश्वासका कारण पनि यस जात्राको धार्मिक तथा सांस्कृतिक महत्व उच्च रहेको स्थानीय बताउँछन्।
Related







