
भक्तपुर — वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार पक्राउ पर्नेहरूमा शक्ति राई, विमला दोङ र रोशन तामाङ रहेका छन्।
कार्यालयका प्रवक्ता रामेश्वर कार्की का अनुसार उनीहरूले विभिन्न देश पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका थिए। शक्तिले न्युजिल्यान्ड पठाइदिने भन्दै एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै २४ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Related







