
खोटाङमा अतिक्रमित सरकारी जग्गाको विवरण तीन दिनभित्र बुझाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाभर अतिक्रमणमा परेको सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
दशवटै स्थानीय तहलाई पत्राचार गर्दै प्रशासनले अतिक्रमित जग्गाको अद्यावधिक विवरणसहित त्यसलाई हटाउने कार्ययोजना पनि पेश गर्न आग्रह गरेको हो। साथै ‘हार्ड’ र ‘सफ्ट’ दुवै प्रतिलिपि बुझाउन भनिएको छ।
गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनअनुसार विवरण मागिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
जिल्लामा सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी गाउँपालिका मा सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ।
त्रिधार्मिकस्थल हलेसी क्षेत्रमा यसअघि पनि अतिक्रमण हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणका कारण पूर्ण रूपमा सफल हुन सकेको छैन।
यस्तै, बराहपोखरी–१ मा रहेको बराहताल को सार्वजनिक जग्गा २७ जनाले अतिक्रमण गरेको बताइएको छ। गाउँपालिकाले अघिल्लो पटक संरचना हटाए पनि पुनः घरटहरा निर्माण गरिएको जनाइएको छ।
Related







