
भक्तपुर– पोखरा महानगरपालिका ले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ।

किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरिया ले जानकारी दिए।
महानगरभित्रका एक हजारभन्दा बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग भएको जनाउँदै उनले मागअनुसारको बीउ भने उपलब्ध गराउन नसकिएको बताए। उनका अनुसार पोखरामा अत्यधिक रूपमा ‘पोखरेली जेठो बुढो’ जातको धानको माग हुने गरेको छ।
महानगरपालिकाले वितरण गर्न लागेको बीउमध्ये दुई हजार किलो ‘राम धान’ र बाँकी ‘पोखरेली जेठो बुढो’ रहेको उनले जानकारी दिए। महानगरपालिकाले स्थानीय किसानबाट प्रतिकिलो दुई सय रुपैयाँमा बीउ खरिद गरी ५० प्रतिशत अनुदानमा एक सय रुपैयाँमा किसानलाई उपलब्ध गराउँदै आएको छ।
किसानलाई धानको बीउ उत्पादनतर्फ प्रोत्साहन गरिँदै आएको बताउँदै कडरियाले महानगरभित्र वडा नम्बर १३, २३, २६, २९ र ३० का किसानहरूले बीउ उत्पादन गरिरहेको जानकारी दिए।
यस्तै, स्थानीय ‘अनदी’ र ‘पहेँले’ जस्ता धानका जात संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित बीउ किसानलाई उपलब्ध गराउने व्यवस्था गरिएको पनि उनले बताए।
Related







