
भक्तपुर– गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ लिएका सुधन गुरुङ अहिले विवादपछि सार्वजनिक रूपमा निष्क्रिय बनेका छन्।

विवादास्पद व्यवसायी दीपक भट्टसँग आर्थिक साझेदारी र साँठगाँठ रहेको आरोप सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनीमाथि चौतर्फी दबाब आएपछि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहमतिमा राजीनामा दिन बाध्य भएको बताइएको छ।
राजीनामापछि देशको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह आफैंले सम्हालिरहेका छन्। तर नयाँ गृहमन्त्री नियुक्त नभएको १२ दिन बितिसकेको छ।
यसबीच, गुरुङका सचिवालयका सदस्य जेम्स कार्की अझै गृह मन्त्रालयअन्तर्गत काम गरिरहेको र सुकुम्बासी बस्ती हटाउने अभियानमा सक्रिय रहेको दाबी गरिएको छ। तर यो विषय विवादास्पद बनेको छ।
सरकारले मनोहरा र थापाथलीसहितका सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गर्दा आलोचना पनि बढेको छ। गृहमन्त्री प्रकरणमा छानबिन गर्नुपर्ने माग भए पनि अहिलेसम्म औपचारिक छानबिन समिति गठन भएको छैन।
रास्वपा नेताहरूले अनौपचारिक रूपमा अध्ययन भइरहेको दाबी गरे पनि स्पष्ट सरकारी समिति नबन्दा राजनीतिक प्रश्न उठिरहेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार छिट्टै छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ।
यसैबीच, सुधन गुरुङ क्लिन चिट पाए पुनः गृहमन्त्री बन्न सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ। तर उनीमाथि लागेको आर्थिक अनियमितता र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपका कारण स्थिति जटिल रहेको बताइन्छ।
हाल उनी कहाँ छन् भन्नेबारे औपचारिक जानकारी नभए पनि सचिवालयले उनलाई काठमाडौंमै रहेको र निष्पक्ष छानबिनको प्रतीक्षामा रहेको बताएको छ।
Related







