नेपालगन्ज– बाँके प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र सोही गाउँपालिका–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँके का प्रहरी नायब उपरीक्षक दीपक पातली का अनुसार उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनी क्षेत्रमा अटो रिक्साबाट नरैनापुरतर्फ जाँदै गर्दा विशेष सूचनाका आधारमा जाँच गरिएको थियो।
जाँचका क्रममा अवैध भारतीय ५०० र १००० दरका नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद रकम आन्तरिक राजस्व कार्यालय कोहलपुर मा बुझाइएको छ भने पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट करिब तीन लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान पनि बरामद गरेको छ।
प्रहरीका अनुसार वडा नम्बर ३, १० र १७ बाट चुरोट, पान मसला, पेय पदार्थ तथा बोइलर कुखुरा ओसारपसारमा प्रयोग भएका यूपी ४० एस २०७८, भे२प ७५७८ र भे९प ७०६४ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सबै सामान भन्सार कार्यालय नेपालगन्ज मा बुझाइएको प्रहरीले जनाएको छ।

1 मिनेट