हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

सुर्खेत नगर विकास समितिमा करिब तीन करोड हिनामिना आरोप, पाँच जनाविरुद्ध मुद्दा

1 मिनेट

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सटर कवल भाडाबापत उठेको आम्दानी बैंकमा दाखिला नगरी अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध रु ६४ लाख २८ हजार ४३७ बराबरको बिगो मागदाबी गरिएको छ ।

यस्तै, तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध रु एक करोड चार लाख ७१ हजार ९४२, गेहेन्द्रबहादुर डाँगीविरुद्ध रु ७२ लाख ७८ हजार ११० बराबरको बिगो माग गरिएको छ ।

तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द क्षत्रीविरुद्ध रु दुई करोड ९० लाख ९६ हजार ४४१ तथा तत्कालीन सहलेखापाल खड्गबहादुर रानाविरुद्ध रु दुई करोड ९४ लाख ७८ हजार ६८१ बराबरको बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर कवल भाडा असुलीबाट रु चार करोड १८ लाख चार हजार ३०३ आम्दानी भएको देखिए पनि त्यसमध्ये रु एक करोड २३ लाख २५ हजार ६२२ मात्रै बैंकमा दाखिला गरिएको थियो ।

बाँकी रु दुई करोड ९४ लाख ७८ हजार ६८१ बैंकमा दाखिला नगरी राजस्व हिनामिना गरिएको अनुसन्धानबाट खुलेपछि आयोगले मुद्दा दायर गरेको जनाएको छ ।

ट्रेण्डिङ