हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

मेची–महाकाली उद्धार यात्राअन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार

1 मिनेट

धरान– Manavsewa Ashram तथा Ani Choying Drolma Foundation द्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ।

सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष र पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष र एक महिला तथा सुनसरीका विभिन्न स्थानबाट ३२ जनाको उद्धार गरिएको छ । सुनसरीबाट उद्धार गरिएकामध्ये २६ पुरुष र छ महिला रहेका छन् ।

Manavsewa Ashram का केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार गरिएका सडकआश्रित मानवहरूलाई आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको छ । जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको अधिकारीले बताए ।

वर्षात्को समयमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यात्राले विभिन्न जिल्लामा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनको भनाइ छ ।

उद्धार गरिएका सडकआश्रित मानवहरूको आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरणका साथै सम्भव हुने व्यक्तिहरूको पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आश्रम र Ani Choying Drolma Foundation को सहकार्यमा वैशाख २९ गते झापाको काँकरभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा मोरङ र सुनसरी हुँदै कोशी प्रदेशको तीनदिने कार्यक्रम सम्पन्न गरी आजदेखि मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ ।

उद्धार अभियान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा Ani Choying Drolma सहित २४ जना स्वयंसेवक टोली सहभागी छन् ।

परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा पुनःस्थापित गरिँदै आएको अध्यक्ष अधिकारीले बताए ।

हाल Manavsewa Ashram का सातै प्रदेशका १९ जिल्लामा २३ शाखा सञ्चालनमा रहेका छन् ।

ट्रेण्डिङ