हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सच्यायो सूचीँ, भुल सच्याउँदै किरण थापाको नाम परेको भन्दै पठायो पत्र

2 मिनेट

भक्तपुर, १ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित ओरेन्टेल को–अपरेटिभ लिमिटेडका ऋणीहरूको सार्वजनिक सूचीमा ऋण चुक्ता गरिसकेका व्यक्तिको नाम समावेश भएको भन्दै भूल भएका स्वीकार्दै पत्र पठाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले वैशाख ३१ गते सार्वजनिक गरेको ऋणीहरूको तीन पुस्तेसहितको विवरणमा भक्तपुर सिपाडोल निवासी किरण थापा मगरको नाम समेत समावेश भएपछि उहाँले गम्भीर आपत्ति जनाउनुभएको थियो ।

विवाद सार्वजनिक भएपछि समितिको कार्यालयले आज जेठ १ गते औपचारिक पत्र जारी गर्दै किरण थापा मगरको ऋण दायित्व यसअघि नै चुक्ता भइसकेको स्वीकार गरेको हो । सदस्य–सचिव रेविन ढकालद्वारा हस्ताक्षरित पत्रमा ‘भूलवश नामावली प्रकाशन भएको’ उल्लेख गर्दै सार्वजनिक सूचीबाट नाम हटाइएको जानकारी दिइएको छ ।

कार्यालयले जारी गरेको पत्रमा ‘यस कार्यालयको व्यवस्थापनमा रहेको समस्याग्रस्त घोषित ओरेन्टल को–अपरेटिभ लिमिटेडमा रहेको यहाँको ऋण दायित्व रकम यसै कार्यालयको च.नं. ८८७–इच् मिति २०८२÷०६÷२१ को पत्रबमोजिम चुक्ता भइसकेको हुँदा ऋणीहरूको सार्वजनिक गरिएको विवरणमा भूलवश नामावली प्रकाशन भएकोले सो नामावलीबाट नाम हटाइएको व्यहोरा अनुरोध छ’ उल्लेख गरेको छ ।

थापाले आफूले व्यक्तिगत प्रयोजनका लागि नभई एक जना सहयोगीलाई भक्तपुरमा कोल्डस्टोर सञ्चालन गर्न ऋण निकालिदिएको बताउनुभएको थियो । उहाँका अनुसार ती सहयोगीको दुर्घटनामा मृत्यु भएपछि बाँकी रहेको करिब २४ हजार रुपैयाँ समेत आफैँले तिरेर ऋण प्रक्रिया पूरा गर्नुभएको थियो । फुकुवाको पत्र दिएकै कार्यालयले फेरि ऋणीको सूचीमा नाम सार्वजनिक गर्दा सामाजिक रूपमा बदनाम गर्ने प्रयास भएको भन्दै उहाँले आपत्ति जनाउनु भएपछि आजै कार्यालयले क्षमा माग्दै सूचीँबाट नाम हटाएको पत्र पठाएको छ ।

यसअघि नै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले २०८२ असोज २१ गते बैंक खाता फुकुवाका लागि परिपत्र जारी गरिसकेको अवस्थामा पुनः ऋणी सूचीमा नाम समावेश गरि लापर्वाही गरेको थियो ।

घटनापछि समितिका कर्मचारीले अद्यावधिक विवरण समावेश नगर्दा पुरानो सूची सार्वजनिक भएको प्रतिक्रिया दिएका थिए । पछिल्लो पत्रमार्फत कार्यालयले औपचारिक रूपमा त्रुटि स्वीकार गरेपछि सूची सच्याइएको हो ।

 

ट्रेण्डिङ