
रसुवा श्रावण २५ । गोसाई कुण्ड जाने तीर्थयात्रीको आवतजावत बढेको छ । जनैपूर्णिमा मेला सुरु भएसँगै गोसाई कुण्ड जाने तीर्थयात्रीको चाप बढेको हो । तीर्थयात्रीले धुन्चे गोसाई कुण्ड पदमार्ग भरिएको छ । दैनिक २ सयभन्दा बढी तीर्थयात्री आइरहेका गोसाई कुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यो वर्ष कम वर्षा भएका कारण पदमार्ग सुरक्षित छ भने रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन । यसवर्ष १५ हजार तीर्थयात्रीले मेला भर्ने आकलन गरिएको समितका अध्यक्ष सन्जीव डीएमले बताउनुभयो । मेला तथा समग्र सुरक्षाको व्यवस्थाबारे बारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको टोली शुक्रबार गोसाई कुण्ड लागेको छ । परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधारा उत्पति भएको र त्रिशुलधाराको पानीबाट गोसाई कुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाई कुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक मेला लाग्ने गर्छ ।






