हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

पाँचखालमा साप्ताहिक कृषि हाटबजार सुरु, किसान र उपभोक्ताको उत्साहजनक सहभागिता

1 मिनेट

पाँचखालपाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालन हुने भएको हो ।

नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक तथा व्यवस्थापन समिति पाँचखालको सहआयोजना र पाँचखाल–४ वडा कार्यालयको समन्वयमा हाटबजार सुरु गरिएको हो । वडा नं ४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन केन्द्र तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार हाटबजारमार्फत किसानले आफ्ना उत्पादन सिधै उपभोक्तासम्म पुर्‍याउन सक्नेछन् । हाटबजार सञ्चालनपछि बिचौलियाको समस्या घट्ने र उपभोक्ताले किसानकै मूल्यमा ताजा तथा सस्तो कृषिजन्य उत्पादन खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाका अनुसार हाटबजार शुक्रबार बिहानदेखि शनिबार साँझसम्म सञ्चालन हुनेछ । पहिलो र दोस्रो दिनमै किसान र उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ । बजारमा विशेषगरी अर्गानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ । वडाध्यक्ष लामाले अर्गानिक तरकारीको प्रदर्शनी तथा बिक्रीलाई नियमित बनाइने बताए ।

यसअघि गत वैशाख अन्तिम साता नगरपालिकाले ‘कृषि–सहर’ नारालाई सार्थकता दिन कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेला आयोजना गरेको थियो । नगरपालिकाले लवग्रीन नेपालसँगको सहकार्यमा आयोजना गरेको मेलामा करिब २० हजारले अवलोकन गरेका थिए । मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर तथा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिएको थियो ।

नगरप्रमुख महेश खरेलले पाँचखाललाई ‘कृषि सहर’का रूपमा विकास गर्ने लक्ष्यअनुसार स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको बताए । उनले पाँचखालमा उत्पादन हुने तरकारीमा न्यून विषादी प्रयोग हुने दाबी गर्दै किसानलाई प्रोत्साहन गर्न साप्ताहिक कृषि हाटबजार सुरु गरिएको जानकारी दिए ।

यसअघि बनेपा नगरपालिकाले बनेपास्थित लायकु मञ्चमा तथा मण्डनदेउपुर नगरपालिकाले पर्यटकीयस्थल नगरकोटमा विगत दुई वर्षदेखि शुक्रबार अर्गानिक कृषिजन्य हाटबजार सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार

ट्रेण्डिङ