हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

काठमाडौँ महानगरको चेतावनी : १५ दिनभित्र सामान नहटाए ग्यालेक्सी 4K टेलिभिजनका सामग्री लिलाम हुने

1 मिनेट

भक्तपुर– काठमाडौँ महानगरपालिका ले Galaxy 4K Television लाई १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम तिरी आफ्ना सरसामान हटाउन अन्तिम सूचना जारी गरेको छ।

महानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा तोकिएको अवधिभित्र सामान नहटाए लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

काठमाडौँ महानगरपालिका–३ स्थित घरधनी मृगेन्द्र प्रसाद मिश्रले Gorkha Media Network का अध्यक्ष गितेन्द्र बाबु राई विरुद्ध घरजग्गा खाली गराई भाडा असुल गरिपाऊँ भन्दै मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा महानगरको न्यायिक समितिले २०८१ साल कात्तिकमा घरजग्गा खाली गराउने तथा बहाल रकम र बहाल कर गोरखा मिडियाबाट असुल गर्ने निर्णय गरेको थियो।

निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटन ले २०८२ साल साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरपालिकाको नाममा परमादेश जारी गरेको थियो।

अदालतको आदेशपछि २०८२ साल कात्तिक १४ गते महानगरपालिकाले भवन खाली गराए पनि ग्यालेक्सी 4K टेलिभिजनका उपकरण तथा सरसामान अझै हटाइएको छैन।

यसपछि घरधनी मृगेन्द्र मिश्रले गत वैशाख २१ गते सामान लिलाम गरिपाऊँ भन्दै महानगरपालिकामा निवेदन दिएका थिए। सोही आधारमा महानगरले अन्तिम सूचना जारी गरेको जनाएको छ।

महानगरका अनुसार तोकिएको १५ दिनभित्र पनि सामान नहटाइए काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को दफा ७० बमोजिम सरसामान लिलाम गरिनेछ।

गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी 4K टेलिभिजन लामो समयदेखि बन्द अवस्थामा रहेको छ। सहकारी ठगी प्रकरणमा मुछिएका अध्यक्ष जीबी राई हाल फरार रहेका छन्।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार

ट्रेण्डिङ