हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

औद्योगिक क्षेत्रमा २० हजारलाई रोजगारी, चिनियाँ लगानी सबैभन्दा बढी

1 मिनेट

काठमाडौं– नेपालका विभिन्न क्षेत्रमा सञ्चालित १० औद्योगिक क्षेत्रभित्र रहेका उद्योगबाट करिब २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार करिब छ हजार १६ रोपनी क्षेत्रफलमा सञ्चालित औद्योगिक क्षेत्रमा हाल ६३८ उद्योग सञ्चालनमा रहेका छन् ।

गत फागुन मसान्तसम्म दर्ता भएका ७०६ उद्योगमध्ये २६ निर्माणाधीन, १६ बन्द अवस्थामा रहेका छन् भने २६ अन्य सङ्घसंस्था सञ्चालनमा छन् । सातै प्रदेशमा बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् ।

औद्योगिक विकासका लागि आवश्यक पर्ने जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढललगायत पूर्वाधार एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्र सञ्चालन गरिएको सर्वेक्षणमा उल्लेख छ ।

त्यस्तै, लगानीमैत्री वातावरण निर्माण गर्न औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, कम्पनी ऐन, २०६३ तथा विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन गरिएको जनाइएको छ ।

सरकारले स्टार्टअप उद्यम प्रवर्द्धनका लागि स्टार्टअप उद्यम नीति, २०८१ तथा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरेको छ । व्यवसाय सम्वर्द्धन केन्द्र स्थापना गरी नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिइएको छ ।

आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत पाँच हजार १५८ प्रस्ताव प्राप्त भएकामा ६६१ प्रस्ताव सिफारिस भई ६०० उद्यमीलाई कर्जा प्रवाह गरिएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म १० हजार २४४ प्रस्ताव प्राप्त भएका छन् ।

त्यस्तै, औद्योगिक बौद्धिक सम्पत्तिअन्तर्गत फागुन मसान्तसम्म ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट र ३२० डिजाइन दर्ता भएका छन् ।

वैदेशिक लगानीतर्फ फागुन मसान्तसम्म स्वीकृत परियोजनामध्ये कुल लगानीको आधारमा चिनियाँ लगानी सबैभन्दा बढी रहेको छ । सर्वेक्षणअनुसार चीनको ४८ प्रतिशत, भारतको १७.९ प्रतिशत तथा अन्य मुलुकको ३४.१ प्रतिशत लगानी रहेको उल्लेख गरिएको छ ।

ट्रेण्डिङ