हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

प्रथम थाक्रे बाल महोत्सव : विज्ञान, सिर्जना र प्रतिभाले भरियो धादिङ

1 मिनेट

धादिङको थाक्रे गाउँपालिकामा आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ बालबालिकाको सिर्जनशीलता, प्रतिभा र नेतृत्व क्षमताको उत्सवका रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा गाउँपालिका क्षेत्रका ४२ विद्यालयका सयौँ विद्यार्थी सहभागी भएका थिए।

महोत्सवमा विभिन्न पोसाकमा सजिएका बालबालिकाले विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफैँ तयार पारेका विज्ञान सामग्रीहरू महोत्सवको मुख्य आकर्षण बनेका थिए।

जनजागृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले किताबमा पढेका विषयलाई व्यवहारमा उतारेर देखाउन पाउँदा आत्मविश्वास बढेको बताइन्। कक्षा ८ की रविना ठकुरीले पनि कक्षाकोठामा सिकेको वैज्ञानिक सिद्धान्तलाई प्रयोगमार्फत प्रस्तुत गर्दा साथीभाइ र अभिभावकबाट प्रशंसा पाउनु निकै उत्साहजनक अनुभव भएको सुनाइन्।

विद्यार्थीहरूले स्थानीय अन्नबाली प्रयोग गरेर नेपालको नक्सामाथि बनाएको कलात्मक बुट्टा विशेष आकर्षणको केन्द्र बनेको थियो। साथै विभिन्न जातजातिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिले महोत्सवमा थप रौनकता ल्याएको सहभागी अभिभावकहरूले बताएका छन्।

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न महोत्सव प्रभावकारी भएको बताए। उनका अनुसार यस्ता कार्यक्रमले सैद्धान्तिक शिक्षालाई व्यावहारिक रूप दिन मद्दत पुग्नुका साथै बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने अवसर प्रदान गर्छ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले बाल महोत्सवले बालबालिकाको नेतृत्व क्षमता विकास र व्यावहारिक शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले बालबालिकालाई केवल किताबी ज्ञानमा सीमित नराखी समाज र संसार बुझ्ने अवसर दिनुपर्नेमा जोड दिए।

जेठ १६ र १७ गते सञ्चालन भएको महोत्सवको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो। आयोजकका अनुसार महोत्सवले बालबालिकाको चौतर्फी विकास, आत्मविश्वास अभिवृद्धि र नवप्रवर्तनशील सोचको विकासमा सकारात्मक प्रभाव पारेको छ।

ट्रेण्डिङ