
भक्तपुर– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ।

सोमबार राष्ट्रियसभाको बैठक सुरु हुनेबित्तिकै विभिन्न दलका सांसदहरूले उठेर प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उनीहरूले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे स्वयं संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति नियोजित हुन सक्ने आशङ्का व्यक्त गर्दै त्यसबारे गम्भीर छलफल आवश्यक रहेको बताइन्। उनले सीमाक्षेत्रका नागरिकहरूले आफ्नो भूमि जोगाउन संघर्ष गरिरहेको अवस्थामा प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति राष्ट्रिय हितअनुकूल नभएको धारणा राखिन्।
झाँक्रीले देशको सीमाको विषयमा स्पष्ट अडान लिन नसक्ने नेतृत्वबाट राष्ट्रियता र सार्वभौमिकताको संरक्षणको अपेक्षा गर्न कठिन हुने टिप्पणी समेत गरिन्।
सांसदहरूको लगातार विरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्का दुवै सदनमा विरोध चर्किँदै गएको छ भने विपक्षी दलहरूले यस विषयमा प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरणको माग गरिरहेका छन्।
Related







