हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

वीरगञ्जको मेन रोड विस्तार रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

1 मिनेट

भक्तपुर– वीरगञ्जको मुख्य सडक (मेन रोड) विस्तार कार्य रोक्न माग गर्दै स्थानीयवासीले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

‘विकासका नाममा विनाश गर्न पाइँदैन’ भन्दै प्रदर्शनमा उत्रिएका उनीहरूले डोजर आतंक बन्द गर्न र वीरगञ्जको मेन रोडलाई शहरी मार्गकै रूपमा कायम गर्न माग गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले “सर्वोच्च अदालतले वीरगञ्जवासीलाई न्याय देओस्”, “वीरगञ्जमा डोजर आतंक बन्द गर” लगायतका नारा लगाएका थिए।

वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने अवस्था सिर्जना भएको बताए।

उनले मुआब्जासम्बन्धी विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेको लामो समय बितिसक्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गरे। रौनियारले वीरगञ्जको मेन रोडलाई शहरी मार्गका रूपमा कायम राख्नुपर्नेमा जोड दिए।

स्थानीयवासीले सडक विस्तार अघि प्रभावितलाई उचित मुआब्जा र पुनर्स्थापनाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार

ट्रेण्डिङ