हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगी आरोपमा चिकित्सक पक्राउ

1 मिनेट
Hands in metal chain shackle handcuffs in a vintage woodcut revolution propaganda poster style.

चितवन– गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी सञ्चय तथा कारोबार गर्दै डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा चितवन प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा. पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरिएको हो।

डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। अनुसन्धानका क्रममा उनले अवैध क्रिप्टोकरेन्सी कारोबार सञ्चालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डा. यादवले मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत वाइनान्स (Binance) र बाइविट (Bybit) जस्ता नेपालमा प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध सञ्चय तथा कारोबार गर्दै आएका थिए।

भरतपुरस्थित एक अस्पतालमा कार्यरत डा. यादवबाट बरामद सामग्री र डिजिटल उपकरणको विश्लेषण भइरहेको प्रहरीले जनाएको छ। हालसम्म उनले कति व्यक्तिलाई र कति रकम ठगी गरेका छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार

ट्रेण्डिङ