
कास्की– अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको अन्नपूर्ण आधार शिविर (एबीसी) देखि घान्द्रुकसम्म आयोजना हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। अन्नपूर्ण प्रथम हिमालको महिमा र गरिमालाई उजागर गर्ने उद्देश्यले विसं २०७५ देखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन आयोजना हुँदै आएको छ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङका अनुसार यस वर्षको म्याराथनमा १८ देखि ६९ वर्ष उमेर समूहका आठ विदेशी र ४५ स्वदेशी धावक सहभागी हुनेछन्। व्यवस्थापकीय संयोजन रिकी योञ्जनले गरिरहेका छन्। अघिल्ला संस्करणका विजेता तिलकबहादुर सुनारसहितका धावकहरू अन्नपूर्ण आधार शिविर पुगेर पूर्वाभ्यासमा जुटिसकेका छन्।
हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगको नेतृत्वमा रहेको टोलीले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। म्याग्दीको उत्तरी आधार शिविरबाट गरिएको उक्त आरोहणले विश्व पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेको मानिन्छ। त्यसपछि अन्नपूर्ण क्षेत्र विश्वभरका पर्वतारोही र पर्यटकहरूको आकर्षणको केन्द्र बन्न पुगेको हो।
अन्नपूर्ण प्रथमको सफल आरोहणको तीन वर्षपछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।
अन्नपूर्ण हिमालको आरोहण भएको करिब डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेपछि यो क्षेत्र पदयात्राका लागि पनि अन्तर्राष्ट्रिय रूपमा परिचित बन्दै गएको मानिन्छ।
हर्जोगको टोलीको ऐतिहासिक सफलतापछि गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि विस्तार हुन थालेको थियो। त्यसको एक दशकपछि सन् १९६० को दशकदेखि पोखरामा ‘हिप्पी’ पर्यटकहरूको आगमन बढ्दै गयो, जसले अन्नपूर्ण क्षेत्र र पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्यायो।
अन्नपूर्ण हिमालको महत्वलाई विश्व समुदायमा थप प्रचारप्रसार गर्न २०७४ सालमा तत्कालीन प्रतिनिधिसभा विकास समितिका सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण आधार शिविरमै पहिलो पटक अन्नपूर्ण महोत्सव आयोजना गरिएको थियो।
म्याराथनमा धावकहरूले समुद्री सतहबाट चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट दौड सुरु गरी ४२.१९५ किलोमिटर दूरी पार गरेर घान्द्रुक पुग्नेछन्। सामान्यतया तीन दिन लाग्ने यस पदमार्गको दूरी अग्रणी धावकहरूले करिब चार घण्टामै पूरा गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अघिल्ला पाँच संस्करणमा विजेता धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटभित्र दूरी पूरा गरेका थिए।
सामान्य पदयात्रामा पहिलो दिन आधार शिविरबाट बम्बो वा दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक पुग्ने गरिन्छ। अन्नपूर्ण म्याराथन प्रचार समितिका संयोजक टंकराज अधिकारीका अनुसार म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुनेछ।
आठ हजार मिटरभन्दा माथिको हिमालमध्ये अन्नपूर्ण प्रथम नै सबैभन्दा पहिले आरोहण गरिएको हिमाल भएकाले यसलाई पर्वतारोहण इतिहासको ‘जेठो हिमाल’को उपमा दिने गरिन्छ।
म्याराथनमा पुरुष तथा महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रचारप्रसार संयोजक अधिकारीले जानकारी दिए।
हिमाली भूगोल, साहसिक पदमार्ग र मनोरम प्राकृतिक सौन्दर्यका कारण अन्नपूर्ण म्याराथनप्रतिको आकर्षण प्रत्येक वर्ष बढ्दै गएको छ। यस प्रतियोगिताले अन्नपूर्ण प्रथमको मात्र नभई समग्र गण्डकी प्रदेश र नेपालकै हिमाली पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकहरूको छ।
गण्डकी प्रदेशमा अन्नपूर्ण, धौलागिरि र मनास्लुजस्ता विश्वप्रसिद्ध हिमशृङ्खलाहरू रहेका छन्। अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण र बराह शिखरलगायत सात हजार मिटरभन्दा अग्ला हिमालहरू छन्। यसै शृङ्खलामा तिलिचो पिक, नीलगिरि र लमजुङ हिमालसमेत पर्दछन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने ले अन्नपूर्ण हिमालको ऐतिहासिक महत्वलाई उजागर गर्न तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि म्याराथनजस्ता गतिविधि अत्यन्त प्रभावकारी हुने बताए।
Related






