हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय नागरिक

1 मिनेट

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकले देखाएको छ।

प्रहरी अभिलेखअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना तथा चालु आव २०८२/८३ को जेठ १५ गतेसम्म १३ जना गरी कुल ५८ पर्यटकको लेक लागेर मृत्यु भएको हो।

मुस्ताङ, मुक्तिनाथ, थोराङला पास, लोमान्थाङ लगायतका उच्च हिमाली क्षेत्रमा भ्रमणका क्रममा धेरै पर्यटक लेक लाग्ने समस्याबाट प्रभावित हुने गरेका छन्। समुद्री सतहबाट उच्च उचाइमा पुग्दै जाँदा हावामा अक्सिजनको मात्रा घट्ने भएकाले शरीरले आवश्यक अक्सिजन प्राप्त गर्न नसक्दा लेक लाग्ने समस्या देखापर्छ।

विशेषज्ञहरूका अनुसार अत्यधिक उचाइमा छिटो चढ्ने, पर्याप्त आराम नगर्ने, शरीरलाई उचाइसँग अनुकूल हुन समय नदिने तथा स्वास्थ्य अवस्थाप्रति बेवास्ता गर्ने कारणले लेक लाग्ने जोखिम बढ्ने गर्दछ।

प्रहरीले मुस्ताङ भ्रमणमा जाने पर्यटकलाई उचाइअनुसार क्रमशः यात्रा गर्न, पर्याप्त पानी पिउन, लेक लाग्ने प्रारम्भिक लक्षण देखिए तत्काल तल्लो स्थानमा झर्न तथा आवश्यक परे स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरेको छ। हिमाली पर्यटनको आकर्षणसँगै लेक लाग्ने जोखिम पनि बढ्दै गएकाले सचेतना र सावधानीलाई विशेष प्राथमिकता दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्।

ट्रेण्डिङ