
भक्तपुर– प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई काठमाडौँको नक्सालबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गुई रहेका छन्। उनीहरूलाई काठमाडौँ महानगरपालिका–१ नक्सालस्थित नारायणचौर क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिकहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान गरी पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले नक्साल नारायणचौरस्थित आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामक कार्यालय सञ्चालन गरेका थिए। उक्त कार्यालयमार्फत विदेशी मोडल तथा युवतीहरूको नाममा लाइभ हब एपमा विभिन्न अकाउन्ट खोली विदेशी तथा भारतीय नागरिकसँग साथी बनाई कुराकानी गर्ने, विश्वासमा पारेर पैसा माग्ने तथा अन्य शङ्कास्पद गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
Related






