
खोटाङ– नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले आयोजना गरेको ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ सम्पन्न भएको छ। महोत्सवको समापन समारोहमा कलाकार, निर्देशक, छायाँकार तथा विभिन्न चलचित्रकर्मीलाई ११ विधामा उत्कृष्ट अवार्ड प्रदान गरिएको छ।

चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा आयोजित महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्ये लिम्बू चलचित्र ‘रीत’ले पब्लिक च्वाइस अवार्ड जित्दा गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट चलचित्र घोषित भएको छ।
त्यस्तै, ‘ङोल्स्यो रामरानी’का विवेक गुरुङले उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड प्राप्त गरेका छन् भने ‘रीत’का निर्देशक दिनेश लिङ्देन उत्कृष्ट निर्देशक चुनिएका छन्। मगर चलचित्र ‘दिलसरा’का कल्याण रानामगर उत्कृष्ट अभिनेता तथा नेवारी चलचित्र ‘स्वयनगु’की भिन्तुना श्रेष्ठ उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।
तामाङ चलचित्र ‘ह्याङ तामाङ’का सूर्य लामाले उत्कृष्ट छायाङ्कन अवार्ड प्राप्त गरेका छन्। राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’ले जुरी अवार्ड, तामाङ लघु चलचित्र ‘दुखला ग्यम’ले इन्करेजमेन्ट अवार्ड, मगर लघु चलचित्र ‘लाहुरेनी’ले उत्कृष्ट लघु चलचित्र तथा मगर वृत्तचित्र ‘आग्रे’ले उत्कृष्ट वृत्तचित्र अवार्ड हात पारेका छन्।
काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा जेठ १७ गतेदेखि सुरु भएको तीनदिने महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो। समापन कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले विजेता कलाकार तथा चलचित्रकर्मीलाई सम्मान प्रदान गरेका थिए।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी र राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई–जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिएका थिए। साथै अन्तरक्रिया कार्यक्रम, सांस्कृतिक झाँकी र विभिन्न जातीय परिकारका स्टलसमेत आकर्षणका रूपमा रहेका थिए।
आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताबीच नयाँ संवाद, सहकार्य तथा वैकल्पिक सिनेम्याटिक विमर्शको आधार निर्माण गरेको छ। नेपालमा आदिवासी जनजातिसँग सम्बन्धित करिब डेढ हजार चलचित्र, लघु चलचित्र र वृत्तचित्र निर्माण तथा प्रदर्शन भइसकेको महासङ्घले जनाएको छ।
Related






