हामीसँग जोडिनुहोस

उपत्यकामा एकै दिन १ हजार २९९ सवारीचालक कारबाहीमा, २३ लाखभन्दा बढी राजस्व सङ्कलन

1 मिनेट

भक्तपुर– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा सवारी नियम उल्लङ्घन गर्ने एक हजार २९९ जना सवारीचालकलाई कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३४ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११८ जना चालक कारबाहीमा परेका छन्।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ११४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२० जना तथा एकतर्फी सडकमा सवारी चलाउने १४४ जनालाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने चालकलाई समेत कारबाही गरेको जनाएको छ। कार्यालयले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार

ट्रेण्डिङ