हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

मधेसमा अत्यधिक गर्मी, ‘लु’ को जोखिम बढ्दै; स्वास्थ्यकर्मीको सतर्कता अपनाउन आग्रह

1 मिनेट

धनुषा– दैनिक रूपमा तापक्रम बढ्दै गएपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ। पछिल्लो एक सातादेखि प्रदेशका अधिकांश स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले ‘लु’ (हीटवेभ) को जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सतर्कता अपनाउन आग्रह गरेको छ।

कार्यालयका अनुसार अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने सम्भावना बढेको छ। ‘लु’ का कारण अत्यधिक थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, बान्ता हुने, बेहोस हुनेलगायत स्वास्थ्य समस्या देखिन सक्छन्।

प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन दिग्विजय ठाकुर ले गर्मीबाट बच्न सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, दिउँसोको कडा घाममा बाहिर ननिस्कन, हलुका र सुतिका लुगा लगाउन तथा बाहिर निस्कँदा टाउको छोप्न सुझाव दिएका छन्। उनले पर्याप्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न पनि आग्रह गरेका छन्।

अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित भएका छन्। शहरी क्षेत्रमा समेत दिउँसोको समयमा मानिसहरूको चहलपहल उल्लेख्य रूपमा घटेको छ। सर्वसाधारणले घामको समयमा बाहिर निस्किएर काम गर्न निकै कठिन भइरहेको बताएका छन्।

जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झा ले यस वर्ष मनसुनी वर्षा समयमै सुरु हुने सम्भावना कम देखिएको बताए। उनका अनुसार जेठ १८ देखि असोज १३ सम्मलाई मनसुनी अवधि मानिए पनि जेठ महिना सकिन लाग्दासमेत अत्यधिक गर्मी कायम छ।

स्वास्थ्यकर्मीहरूले गर्मीका बेला शरीरमा पानीको कमी हुन नदिन विशेष ध्यान दिन आग्रह गरेका छन्। डा. ठाकुरका अनुसार शरीरमा पानीको मात्रा घट्दा डिहाइड्रेसन तथा एलर्जीका समस्या बढ्न सक्छन्। उनले तिर्खा नलागे पनि दिनमा कम्तीमा आठ गिलास पानी पिउन र पानीको सट्टा बियर, कफी तथा सोडाजस्ता पेय पदार्थ सेवन नगर्न सुझाव दिएका छन्।

स्वास्थ्य विज्ञहरूले गर्मीको मौसममा विशेष सावधानी अपनाउन र ‘लु’ का लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

ट्रेण्डिङ