
झापा– कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा बालविवाहसम्बन्धी ३८ वटा सूचना दर्ता भएको छ। हराएका बालबालिका खोजतलास समन्वय केन्द्रद्वारा सञ्चालित कोशी टोल–फ्री हेल्पलाइन १०९८ मा साउनदेखि वैशाख मसान्तसम्म उक्त सङ्ख्यामा उजुरी तथा सूचना प्राप्त भएको हो।

बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारी का अनुसार प्रदेशका १४ जिल्लामध्ये चार जिल्लाबाट मात्रै बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी मोरङ बाट २४ वटा, सुनसरी बाट ११ वटा, इलाम बाट दुई वटा र उदयपुर बाट एउटा सूचना प्राप्त भएको उनले जानकारी दिए।
बालविवाह, बाल हिंसा वा शोषणसम्बन्धी सूचना हेल्पलाइन १०९८ वा प्रहरी हेल्पलाइन १०४ मा दर्ता भएपछि सम्बन्धित बालबालिकाको संरक्षण, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरी आवश्यक सेवा उपलब्ध गराइने गरिएको छ।
विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा नौ हजार ७१३ बालविवाहका घटना रहेको तथ्याङ्क छ। यद्यपि पछिल्ला वर्षहरूमा टोलटोलमा गठन भएका बाल सञ्जाल तथा विद्यालयस्तरमा सञ्चालित बालक्लबहरूको सक्रियताका कारण बालविवाह न्यूनीकरणमा सकारात्मक प्रगति देखिएको संरक्षणकर्मी अधिकारीले बताए।
बालअधिकारकर्मीहरूले बालविवाह नियन्त्रणका लागि समुदायस्तरमा सचेतना, विद्यालयको सहभागिता तथा हेल्पलाइन सेवाको प्रभावकारी उपयोगलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
Related






