भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित करिब ३०० वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा सञ्चालन भएको एकमहिने पुरुषोत्तम मेला सम्पन्न भएको छ । सोमबार मेला समापन भएसँगै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको श्रृंखला पनि टुंगिएको हो ।
मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीका अनुसार मेलाका क्रममा सत्संग, प्रवचन, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय समुदायको सक्रिय सहभागितामा नारायण पूजा, पुरुषोत्तम महात्म्य वाचन तथा दर्शनार्थीका लागि सहज पूजाआजाको व्यवस्था मिलाइएको थियो ।
मेलामा भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी तथा काभ्रेपलाञ्चोकलगायत विभिन्न क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थी पुगेका थिए ।
मन्दिरका संरक्षकसमेत रहेका पुरीले यो मन्दिर दुई पीपलका रुखबीच अवस्थित रहेको र पुरानो संरचना जीर्ण भएपछि पुनर्निर्माण गरिएको जानकारी दिए । उनले मन्दिरको शिलालेख पुरिएको हुनसक्ने भएकाले यसको उत्खनन तथा ऐतिहासिक अध्ययन आवश्यक रहेको बताए । मन्दिरमा करिब १०० वर्ष पुरानो पूजा थाली अझै सुरक्षित रहेको उनको भनाइ छ ।
स–साना तीन खोलाको संगमस्थलमा अवस्थित भएकाले यस क्षेत्रलाई ‘त्रिवेणी धाम’का रूपमा चिनिन्छ । मन्दिर परिसरमा ६४ शिवलिङ्ग, सप्तऋषि मन्दिर, कृष्णवर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर तथा पवित्र कुण्ड रहेका छन् । मलमासका बेला यहाँ ५० हजारभन्दा बढी दर्शनार्थी पुग्ने र यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय जनविश्वासअनुसार मन्दिर परिसरको कुण्डमा स्नान गर्दा छालालगायत विभिन्न रोगबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ । यसै वर्ष मच्छेनारायण मन्दिर परिसरस्थित श्रीकृष्णवर्तेश्वर महादेव मन्दिरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्राम तौलको गीताचार्य श्रीकृष्ण भगवानको विराट मूर्ति स्थापना गरिएपछि धार्मिक आकर्षण थप बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताए ।
यसैबीच, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा सञ्चालन भएको एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला पनि सोमबार सम्पन्न भएको छ । उक्त अवधिभर नारायण पूजा, पुरुषोत्तम महात्म्य वाचन तथा धार्मिक अनुष्ठान सञ्चालन गरिएको थियो ।
ख्यो पुखुस्थित पवित्र कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गर्दा रोगव्याधि र पापकर्म नष्ट हुने धार्मिक विश्वासका कारण मेलामा ठूलो संख्यामा श्रद्धालु सहभागी भएका थिए ।

2 मिनेट