भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ।
पार्टीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ६०९ पालिका र चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन् भने मधेस प्रदेशको अधिवेशन स्थगन गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अधिवेशन प्रक्रिया जारी रहेको रास्वपाले जनाएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ।
त्यस्तै सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगन भएको उनले जानकारी दिए।
रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टीका अनुसार देशभर संगठन विस्तार र अधिवेशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने महाधिवेशनलाई सफल बनाउन आवश्यक तयारीहरू तीव्र गतिमा अगाडि बढाइएको छ।

1 मिनेट