हामीसँग जोडिनुहोस

रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु

1 मिनेट

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटनाबाट हुने जनधनको क्षति घटेको तथ्यांक सार्वजनिक भएको छ।

रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्।

सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ट्राफिक सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित तथा छड्के सवारी जाँच, सडक सुरक्षा व्यवस्थामा कडाइ र प्रभावकारी निगरानीका कारण सवारी व्यवस्थापनमा सुधार आएको बताए।

उनले सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना, अनुशासन तथा सरोकारवाला निकायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै जिल्लास्थित सुरक्षा निकायलाई जनताको जीउधनको सुरक्षामा अझ सक्रिय बन्न आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले भने सडक सुरक्षासम्बन्धी चुनौती अझै कायम रहेको बताए। उनका अनुसार प्रहरीको निगरानी छलेर भित्री सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी भार बोक्ने तथा लागूऔषध वा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति अझै नियन्त्रण हुन सकेको छैन।

‘अपेक्षा गरेअनुसारको नतिजा प्राप्त हुन नसक्नुका पछाडि यस्ता गतिविधि प्रमुख कारण बनेका छन्,’ उनले भने।

उनले रौतहटका विभिन्न आठ स्थानमा हाल ५० देखि ६० जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिँदै सीमित स्रोतसाधनका बाबजुद सरोकारवाला निकायसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताए।

‘जिल्लामा भएका अधिकांश सडक दुर्घटनाको विश्लेषण गर्दा विद्यार्थी तथा युवा पुस्ता अझ बढी सचेत र जिम्मेवार हुनुपर्ने देखिएको छ,’ प्रहरी प्रमुख थापा मगरले भने।

रौतहटका भित्री सडक तथा सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधनको आवागमन उल्लेख्य रहेकाले ट्राफिक व्यवस्थापनमा थप चुनौती रहेको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रको विशेष अवस्थाका कारण सवारी निगरानी र नियम कार्यान्वयनमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

ट्रेण्डिङ