हामीसँग जोडिनुहोस

अमेरिकाको प्रलोभन देखाएर १५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

1 मिनेट

झापा– सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको माछापोखरी बस्दै आएका स्याङ्जा भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली तथा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले टिकटकमार्फत आफू अमेरिकामा बस्ने नेपाली मूलका व्यक्ति भएको भन्दै ‘प्रिन्स तामाङ’ नामको टिकटक आइडी प्रयोग गरी पीडितसँग सम्पर्क गरेका थिए। अंग्रेजी भाषामा कुराकानी गर्दै आफ्नो अनुहारसमेत नदेखाई विवाह गरेर अमेरिका लैजाने आश्वासन र प्रलोभन देखाएर पटक–पटक रकम असुल गरेको आरोप छ।

पीडितको उजुरीअनुसार उनीहरूले विभिन्न बहानामा १५ लाख १० हजार ५ सय रुपैयाँ ठगी गरेका थिए।

उजुरीका आधारमा साइबर ब्युरो बाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौं बाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्रेण्डिङ