चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा प्रभावित बनेको यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन बिहीबार बिहानैदेखि मेसिन परिचालन गरिएको छ।
बुधबार राति करिब ८ः३० बजे अचानक सुख्खा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय भरतपुर र सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको थियो।
सडक डिभिजन कार्यालयको करिब डेढ घण्टाको प्रयासपछि राति १० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार राति एकतर्फी रूपमा सवारी सञ्चालन गरिए पनि बाँकी रहेको पहिरो हटाएर सडकलाई सुरक्षित र पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको छ।
पहिरो पन्छाउने क्रममा सवारी आवागमनलाई सुरक्षित बनाउन सुरक्षाकर्मीको समन्वयमा केही समयका लागि सवारी साधन रोक्ने र खुलाउने कार्य गर्दै मेसिनमार्फत पहिरो हटाउने काम जारी रहेको सडक डिभिजनले जनाएको छ।
काठमाडौँ र पोखरालाई चितवनसँग जोड्ने व्यस्त नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण राति केही समय सवारी साधनको लामो जाम लागेको थियो। यद्यपि अहिले यातायातलाई सहज र सुरक्षित बनाउने प्रयास जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
प्रकाशित मिति : ४ असार २०८३, बिहीबार

1 मिनेट