हामीसँग जोडिनुहोस

बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे दुई महिनादेखि रोकियो काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (Dense Bituminous Macadam) कालोपत्रे गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता पक्की निर्माणको काम रोकिएको छ।धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणमा पक्की निर्माण गरिएको थियो। उक्त खण्डमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुईतर्फी सञ्चालनको अनुमति दिइएको छ।कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावकै कारण बाँकी सडक पक्की गर्ने काम र पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अस्फाल्ट तह थप्ने कार्य रोकिएको हो। चार किलोमिटर सडक स्तरोन्नति योजनाअन्तर्ग

2 मिनेट

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (Dense Bituminous Macadam) कालोपत्रे गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता पक्की निर्माणको काम रोकिएको छ।

धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणमा पक्की निर्माण गरिएको थियो। उक्त खण्डमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुईतर्फी सञ्चालनको अनुमति दिइएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावकै कारण बाँकी सडक पक्की गर्ने काम र पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अस्फाल्ट तह थप्ने कार्य रोकिएको हो। चार किलोमिटर सडक स्तरोन्नति योजनाअन्तर्गत बाँकी दूरीको काम वैशाख पहिलो साताबाट सुरु गर्ने तयारी भए पनि आवश्यक कच्चा पदार्थ अभावले काम प्रभावित भएको उनले बताए।

हाल यात्रुलाई सहजता प्रदान गर्न पक्की गर्न बाँकी खण्डमा खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको छ। बिटुमिन आयात भएपछि बाँकी १.५ किलोमिटर सडक दोस्रो चरणमा कालोपत्रे गरिने जनाइएको छ।

सडक निर्माणअन्तर्गत ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस हाल्ने तथा त्यसपछि डिबिएम र अस्फाल्ट गरी दुई चरणमा कालोपत्रे गर्ने योजना रहेको छ।

लामो समयसम्म निर्माण व्यवसायीको ढिलासुस्तीका कारण रोकिएको सडक विस्तार आयोजनालाई नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि पुनः गति दिइएको थियो। कार्यालयका अनुसार सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी आगामी पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कालोपत्रे सम्पन्न भएपछि सडकको स्लोप व्यवस्थापन तथा अन्य बाँकी साना निर्माण कार्यसमेत गरिने इन्जिनियर योगेशले जानकारी दिए।

यसअघि निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न नसकेपछि डिभिजन सडक कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि पनि २५ प्रतिशतभन्दा कम काम सम्पन्न भएको अवस्थामा २०८१ फागुन १५ गते उक्त कम्पनीसँगको ठेक्का रद्द गरिएको थियो।

गौरी–पार्वती निर्माण सेवाले २०७९ जेठ २० गते २२ महिनाभित्र अर्थात् २०८० चैत १९ गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।

धुलिखेल–खावा सडकखण्ड अरनिको राजमार्गअन्तर्गत चीनसँगको उत्तरी सीमा नाका तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ आवागमन गर्ने मुख्य सडक भएकाले यसको स्तरोन्नतिलाई महत्वका साथ हेरिएको छ।

 

 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार

ट्रेण्डिङ