भक्तपुर– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
देवचुली नगरपालिका–११ धारापानी निवासी ६२ वर्षीय झनकप्रसाद पौडेलले आज बिहान नदीमा हाम फालेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले मोटर बोटको सहायताले उनको उद्धार गरेको हो।
उद्धारपछि उनलाई उपचारका लागि चितवन अस्पताल पठाइएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीचभागमा अड्किएका एक युवाको पनि सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
भोटेकोशी गाउँपालिका–१ लिस्ती निवासी २३ वर्षीय संजिव विकलाई नदीले बगाएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीबाट खटिएको टोलीले खोजी थालेको थियो। उनलाई नदीको बीचभागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेर सुरक्षित उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धारपछि विकलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

1 मिनेट