काठमाडौं– सरकारले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकाय परिचालन गरिसकिएको र मनसुनजन्य विपद्सँग जुध्न आवश्यक सबै तयारी सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार सम्बन्धित निकायहरूलाई विगतका वर्षभन्दा अझ प्रभावकारी ढंगले विपद् व्यवस्थापनमा परिचालन हुन निर्देशन दिइसकिएको छ। जनताको सुरक्षा सुनिश्चित गर्न आवश्यक परे हेलिकप्टरसमेत परिचालन गर्ने योजना बनाइएको उनले बताए।
मन्त्री गुरुङले सडक अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन सकिने गरी आवश्यक उपकरण र पूर्वाधारको व्यवस्था मिलाइएको पनि उल्लेख गरे। साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा नागरिक सेवामा समर्पित हुन तथा कानुनविपरीत कार्य गर्ने जो–कोहीलाई पनि उन्मुक्ति नदिने गरी काम गर्न निर्देशन दिइएको बताए।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले बैठकमा मनसुनपूर्व तयारी र प्रतिकार्य योजनाबारे विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने प्रक्षेपण रहेकाले सोहीअनुसार तयारी गरिएको छ।
गृहमन्त्रीबाट विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै निकायलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको पनि कोइरालाले बताए।
प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब ५१ हजार ८६८ घरधुरी प्रभावित हुने तथा २ लाख २६ हजार ६६१ जना प्रत्यक्ष असरमा पर्न सक्ने अनुमान गरिएको छ।

1 मिनेट