हामीसँग जोडिनुहोस

चीनको सहयोगमा स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति तीव्र

2 मिनेट

रसुवा– नेपाल–चीन व्यापार तथा आवागमनलाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढाइएको छ। गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्तरोन्नति भइरहेको हो।

गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजना कार्यालयका अनुसार यसअघि पनि उक्त सडक चीन सरकारकै सहयोगमा निर्माण गरिएको थियो। हाल चिनियाँ निर्माण कम्पनीमार्फत सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माण कार्य सञ्चालन भइरहेको छ।

आयोजनाका स्थलगत अनुगमनकर्ता तथा इञ्जिनियर कुमार पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माणलाई तीव्रता दिइएको छ।

उनका अनुसार केही स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम अघि बढे पनि Langtang National Park क्षेत्रभित्र पर्ने स्थानमा रुख कटानको अनुमति समयमै नपाउँदा केही भागमा निर्माण कार्य प्रभावित भएको छ।

गत पुसदेखि सुरु भएको स्तरोन्नति आयोजनाको हालसम्म करिब सात प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकका लागि आवास निर्माण गरिसकेको छ। यसले जनशक्ति परिचालन सहज बनेकाले दिनरात निर्माण कार्य सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए।

उनले नेपाल सरकारले स्थानीय खोलाबाट आवश्यक गिट्टी तथा बालुवा सङ्कलन गर्न अनुमति दिइसकेको भए पनि सडक विस्तारका क्रममा काट्नुपर्ने रुखको स्वीकृति ढिलो हुँदा केही क्षेत्रमा निर्माणको गति सुस्त भएको बताए।

करिब १६ किलोमिटर लामो स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्तरोन्नति ३९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना पूरा भएपछि नेपाल–चीनबीचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसैबीच आयोजना कार्यालयले टिमुरे क्षेत्रमा विसं २०६५ मा अधिग्रहण गरिएको सडक क्षेत्रभित्र स्थानीयले पुनः घरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरेको जनाएको छ।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखोलगायत क्षेत्रमा सडकमा ठूलो क्षति पुगेको थियो। सोही कारण सडक स्तरोन्नतिलाई थप प्राथमिकतामा राखिएको इञ्जिनियर पराजुलीले बताए।

आयोजना सम्पन्न भएपछि रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने विश्वास स्थानीय तथा सरोकारवालाले व्यक्त गरेका छन्।

ट्रेण्डिङ