भक्तपुर– काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकलाई यात्रु तानातान गर्ने, झोला खोस्ने तथा अन्य अमर्यादित व्यवहार गरेको आरोपमा सोमबार नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा रहेका छन्।
प्रहरीका अनुसार उनीहरू यात्रु तानातान गर्ने, झोला खोस्ने तथा यात्रुलाई अनावश्यक दुःख र हैरानी दिने गतिविधिमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।
प्रकाशित मिति : ८ असार २०८३, सोमबार

1 मिनेट