भक्तपुर, ९ असार । सूर्यविनायक नगरपालिकाको नगरसभाको २० औं अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रमसहित विभिन्न विषयगत समितिका प्रतिवेदनहरू प्रस्तुत गरि सहभागी सभा सदस्यहरुबीच छलफल गरि आजको पहिलो दिनको सभाको बैठक सम्पन्न भएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

नगर सभाको बैठकमा नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्षका लागि तय गरिएका ८३ पृष्ठ लामो नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नु भएको थियो । उहाँले सूर्यविनायक नगरपालिकाले नौ वटा वडा कार्यालयका आफ्नै भवन निर्माण भई सकेको बताउदै बाँकी रहेको वडा नं १ को कार्यालय भवन पनि आगामी आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले यस अबधिमा नगरपालिकाको आफ्नै नगरपालिकाको लगानी, संघीय र प्रदेश सरकारसंगको साझेदारीमा १५९.५ किलो मिटर सडक कालोपत्र गरेको, ४८.५ किलोमिटर सडक ढलान, ८७.७७ किलोमिटर सडक ग्राभेल, ४८.९ किलोमिटर ढल विछयाउने कार्य गरेको, १३.४ किलोमिटर सडकमा ढुङ्गा तथा ब्लक विछयाउने कार्य गरेको, ४५ वटा पक्की मोटरेबल पुल निर्माण गरेको, ९ वटा ट्रस पुल, एक वटा अस्पताल निर्माण, आठ वटा प्रशासकीय भवन निर्माण गरेको बताउनुभयो ।

नगरसभामा नगर प्रमुख वासुदेव थापाले आफ्नो कार्यकालमा ६७.७ किलोमिटर बाटो सिमाङकन गरि पर्खाल निर्माण गरेको, २३ वटा पाटी प्रतिक्षालय, २६.३ किलोमिटर. सिंचाई कुलो मर्मत, १३ वटा जेष्ठ नागरिक मिलन चौतारी, एक वटा खेलकुद मैदान, कूल ८० वटा विद्यालय फाल्चा, सामुदायिक भवन मठ मन्दिर, स्वास्थ्य चौकी निर्माण, २९ वटा खानेपानी टयाङकी र १३२.५ किलोमिटर खानेपानी पाईप विछयाउने कार्य निर्माण गरेको बताउनु भयो । उहाँले रकम प्रथम चरणको भौतिक प्रगति ९० प्रतिशत हासिल गरेको बताउदै वडा नं २ देखि ६ सम्म मेलम्चीको खानेपानी वितरण गरेको बताउनुभयो ।

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा सञ्चालन गरेको बताउदै यस अस्पताललाई प्रदेश सरकारको सहयोगमा ट्रमा सेन्टरको रुपमा बिस्तार गर्ने नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गर्नुभयो । नगरपालिकाले शैक्षिक सत्रमा २०८२ मा ६० संस्थागत विद्यालयबाट ३ हजार २४ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको बताउदै यसवर्ष पनि छात्रबृत्ति प्रदान गरिने बताउनुभयो ।
नगर प्रमुख थापाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममाथि छलफलपछि सभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ । नगर प्रमुख थापाले नगरको समग्र विकास, सुशासन र समृद्धिका लागि अघि बढाइएको अभियानमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा नगरवासीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

नगर सभाको बैठकमा विषयगत समितिहरुको आ.ब. २०८२/०८३ को वार्षिक प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको छ । बैठकमा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराईले राजस्व परामर्श समितिको प्रतिवेदन तथा चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय विवरण, न्यायिक समितिको वार्षिक प्रतिवेदन, नगरस्तरीय अनुगमन तथा सपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न विषयगत समितिका प्रतिवेदनहरू पनि सभामा प्रस्तुत गर्ने क्रममा विधायन समितिको प्रतिवेदन समिति संयोजक प्रदीप कार्कीले प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास समितिको प्रतिवेदन समितिका संयोजक रविन्द्र सापकोटाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विकास समितिको प्रतिवेदन समितिका संयोजक पुष्पराज बस्नेतले प्रस्तुत गर्नु भयो ।

पूर्वाधार विकास समितिको प्रतिवेदन समितिका संयोजक शिवराम राउतले प्रस्तुत गर्नुभयो भने वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन समितिका संयोजक भगवान खत्रीले र सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन समितिका संयोजक सानुकाजी कायस्थले सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक लेखा समिति तथा अन्तिम लेखापरीक्षण प्रतिवेदनसम्बन्धी प्रस्ताव समिति सदस्य तारा सापकोटाले प्रस्तुत गर्नुभएको थियो । नगरसभाको अर्को बैठक बुधबार नगरसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।




5 मिनेट