भोजपुर – Pauwadungma Rural Municipalityले किसानको प्रमुख समस्याका रूपमा रहेको बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेको अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँग समन्वय गरेर बाँदरको प्रजनन दर नियन्त्रण गर्ने योजना अघि बढाएको हो।
गाउँपालिकाको मङ्गलबारदेखि सुरु भएको १९औँ गाउँसभाबाट आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम समावेश गरिएको गाउँपालिका अध्यक्ष Kiran Raiले जानकारी दिए।
“बाँदर किसानको जटिल समस्या बनेको छ,” अध्यक्ष राईले भने, “बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ। सङ्घीय सरकारसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्ने हाम्रो लक्ष्य छ।”
गाउँपालिकाका अनुसार बन्ध्याकरणमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोजिनेछ। यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। यसबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिका उपाध्यक्ष Jyotsana Raiका अनुसार पछिल्लो समय गाउँपालिकाका विभिन्न वडामा बाँदरको सङ्ख्या तीव्र रूपमा बढ्दै गएपछि मकै, कोदो, आलुलगायतका बालीमा ठूलो क्षति पुग्न थालेको छ। यही समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न बाँदरको बन्ध्याकरण कार्यक्रम अघि सारिएको हो।
कार्यक्रमको पहिलो चरणअन्तर्गत अध्ययन तथा खोज अनुसन्धानका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ।

1 मिनेट