हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सम्पन्न

गुण्डुबाट सुरु भएको अभियान चित्तपोलमा सम्पन्न

5 मिनेट
भक्तपुर, १७ असार : सूर्यविनायक नगरपालिकाले सुरु गरेको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा आजबाट सम्पन्न भएको छ ।  सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक र स्थानीय पालिकाको एक गरि ५२ वटा सूचक पुरा गरेसंगै नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सरु गरेको थियो ।
नगरपालिकाका सबै वडाले ५२ वटा सूचक पुरा गरेपछि जिल्ला समन्वय समिति भक्तपुरको अनुगमन पछि अनुमति प्राप्त गरि नगरपालिकाले यहीँ असार १२ गतेबाट पालिकाको १० वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सुरु गरेको र आज सम्पन्न गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।
असार १२ गते वडा नं. ७ गुण्डुबाट सुरु भएको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान प्रत्येक दिन सञ्चालन गरि वडा नं. १, २, ३, ४, ५, ६, ८ र आज एकैदिन वडा नं.९ र १० घोषणा गरि अभियान सम्पन्न गरेको उहाँले बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई पुरा गर्दै नेपाल सरकारको निर्णय अनुसार सरकारले निर्धारण गरेको ५२ वटा सूचक पुरा गरेर घोषणा गरेका हौं । नगरपालिकाले तीन वर्ष अगाडि नै नगरपालिकाले सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गर्दै निर्देशिका र कार्यबिधि बनाएर तीन वर्षको अथक प्रयासले सबै वडामा बाल समिति गठन गरि सबै सूचक पुरा गरि अभियान सञ्चालन गरेको हो ।”
सूर्यविनायकको सबै वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले एउटा इँटा थपिएको बताउदै उहाँले यसलाई दिगोपनाका लागि नगरपालिकाले थप जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “नौ वर्ष मेरो नेतृत्वमा नगरपालिकाको विकासमा लाग्यौं, अब बाँकी ११ महिना कार्यकालमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणालाई दिगोपना दिनेछौं । हामी संविधान भन्दा माथि उठेर कुनै काम गर्दैनौ, संविधान भित्र रहेर नगरपालिकाको विकास र नगरवासीका समृद्धका लागि काम गर्नेछौं ।”
उहाँले भन्नुभयो, “सूर्यविनायक अब बालमैत्री मात्रै नभई जेष्ठ नागरिक मैत्री नगरपालिका पनि हो, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिकलाई परिवारबाट अपहेलना भएमा त्यस्ता परिवारलाई नगरपालिकाबाट दिने सेवा रोक्ने र कानूनी कारबाहीलाई अगाडि बढाउने नीति लिएका छौ, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिक अधिकारबाट बञ्चित हुनु पर्दैन ।”
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सम्पन्न भएसंगै यसलाई दिगोपनाका लागि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाले कार्यक्रम ल्याउने बताउनुभयो ।  उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कुनै सहज नभएको बताउँदै यसमा धेरैको सहयोग र अथक प्रयासले सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय विकासको सुरुवात बालबालिकाको जन्मदेखि नै हुन्छ, उनीहरुको अधिकार सुरक्षित गर्नु घर, परिवार र सरकारको जिम्मवारी हो, सरकारका जिम्मेवारी हामी पुरा गरिरहेका छौं ।”
त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बालमैत्री स्थानीय शासनयुक्त वडा तथा पालिका घोषणा गर्ने नगर प्रमुखको सपना साकार भएको बताउनु भयो ।
आचार्यले भन्नुभयो, “औलामा गन्न सकिने स्थानीय तह मात्रै बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । हाम्रो नगरपालिकाले घोषणाको चरण पार गरेको छ । मेयसको सपना साकार भएको छ, बालबालिकाको भविश्य र जिम्मेवारीलाई उहाँले महत्व दिनुभयो र यो अभियान सञ्चालन भयो । यो अभियान यही सकिएको छैन, यसको दिगोपन भयो कि भएन, घरघरमा बालअधिकारको सुनिश्चितता छ कि छैन, हामी दिगोपनाको लाग अनुगमनदेखि कार्यक्रमलाई निरन्तरता दिन्छौं ।”
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले नगर प्रमुख वासुदेव थापाको २०७४ बाट सुरु भएको पहिलो कार्यकाल भौतिक पूर्वाधार निर्माण तथा विकासमा लगाएको र दोश्रो कार्यकाल त्यसका साथै मानवीय विकासमा सक्रिय भएर लागेको बताउनुभयो ।  मानवीय विकासको नमूनाको रुपमा बालमैत्री, महिलामैत्री, जेष्ठ नागरिक मैत्री नगरपालिका र सेवा प्रवाह अगाडि बढिरहेको बताउदै उहाँले तीन वर्ष भित्र नगरपालिकालाई बालमैत्री स्थानीइ शासन युक्त घोषणा अभियान अन्नतः सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भोलीको भविश्यको रुपमा रहेको बालबालिकालाई सक्षम राष्ट्रप्रेमी नागरिक बनाउन बालबालिका माथि सरकारको पनि लगानी लगाउनु पर्छ भनेर तीन वर्षदेखि कार्य योजना बनाएर वडा वडामा बिज्ञ समूहबाट प्रत्येक घरघरमा अनुगमन गरि ५२ वटा सूचक पुरा गरि जिल्ला समन्वय समितिले समेत प्रक्रिया पुरा गरि अनुमति प्राप्त गरेपछि मात्रै घोषणा अभियान सुरु गरेका हौं ।”
उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा चिया पसलमा बसेर नकारात्मक टिप्पणी गर्ने र सामाजिक सञ्जालबाट भ्रम छर्न खोज्नेले नगरपालिका भित्र रहेका ३५ हजार बालबालिकाको बचाउ र अधिकारमाथि अपमान गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे, कार्यपालिका सदस्य सर्मिला बस्नेतले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका क्रममा पार गरेका बिभिन्न चरणहरुको प्रस्तुती दिनु भएको थियो ।
वडा न. १० का वडाअध्यक्ष शिवराम राउतले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले बालबालिकाको भविश्य र बाल अधिकार सुनिश्चित भएको बताउदै यसलाई दिगोपनाको लागि नगरपालिकासंगै सबै जुट्नु पर्ने बताउनुभयो ।  सूचकहरुमध्ये अधिकांशमा ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्यवनायकका १० वटा  वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरेको हो ।

ट्रेण्डिङ