सूर्यविनायक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भक्तपुर, २६ असार : सूर्यविनायक नगरपालिकाले आज नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आज आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नु भएको हो ।
उहाँले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताउनुभयो । उहाँले आजको घोषणादाई दिगोपना दिन नगरपालिकाले थप कार्यक्रम ल्याउने बताउदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा र स्वास्थ्यको सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता, सामाजिक शाखाका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनुभयो । सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षहरूमा समेत खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न खोप कार्यक्रमलाई अझ प्रभावकारी, पहुँचयोग्य र दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सूचक तथा मापदण्ड पूरा भएपछि सूर्यविनायकलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो। नगरपालिकाले २०७४ साल चैत २९ गते पूर्णखोप घोषणा गरेपछि निरन्तर रूपमा खोप सुनिश्चितता तथा दिगोपनाको अभियान सञ्चालन गर्दै आएको थियो। चालु आर्थिक वर्षमा वडागत रूपमा घरधुरी सर्वेक्षण गरी छुट भएका बालबालिकाको खोज तथा खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार खोप सुनिश्चित गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले २०७४ साल चैत २९ गते पूर्णखोप घोषणा गरेपछिकार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना लखड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरि घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका ८ जना बालबालिकालाई समेत पूर्ण खोप दिलाउन सफल भएको बताउनुभयो ।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकअनुसार नगर क्षेत्रमा खोप पाएका ० देखि १५ महिनासम्मका बालबालिकाको संख्या १ हजार ७५० रहेको, ड्रपआउट संख्या १ रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको संख्या एक हजार ३२९ रहेको बताउनुभयो ।
कार्यक्रममा खोप सुनिश्चित गराएका नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । नगरपालिकाले संघीय सरकारको स्थानीय तह स्वमूल्यांकन प्रणाली तथा स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन का महत्वपूर्ण सूचकका रूपमा पनि यस उपलब्धिलाई लिइएको जनाएको छ।
वासुदेव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयेमसेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुखको निर्देशनमा कार्यक्रममा सहभागि ७३ जना स्वय ंसेविकाहरु सबैलाई एक थान झोला, छाता, टर्चलाईटलगायतका सामग्री प्रदान गरिएको थियो ।



5 मिनेट









