रमेश गिरी
भक्तपुर,२८ श्रावण । भक्तपुरलाई दीपावली झै सधै उज्यालो बनाउने उद्घोष गर्दै आउनु भएका प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नतेले “उज्यालो भक्तपुर अभियान”को शुभारम्भ गर्नु भएको छ ।
सोमबार राती आठ बजे सूर्यविनायक नगरपालिका वडा नं.७ को गुण्डु चोकबाट खहरेसम्मको २ किलोमिटर दुरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सोलार बत्ति एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियानको उद्घाटन गर्दै उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक सम्वादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको सुरुवात भएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“विगतमा धेरै बर्षदेखि लोडसेडिङ लगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैं तिहारको दिपावली जस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महिनासम्म लाग्नुभएको युवाहरुले स्वयंसेवी रुपमा बत्ति जडान कार्यमा सहयोग पुर्याएको धन्यवाद भन्न चाहन्छु ।”
भक्तपुरको गुण्डु मर्निङ वाक गर्नेमात्र नभई अबका दिनमा इभिनिङ वाक गर्ने ठाउँको रुपमा पनि परिचित हुनेछ भन्दै उहाँले भक्तपुरको कामबाट प्रभाबित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताउनुभयो ।
सांसद बस्नेतले भन्नुभयो–“केहीवर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने हैन, विकासले भक्तपुर खोज्दै आउँन थालेको छ, अब भक्तपुरले विकासमा तिब्र रुपमा फड्को मार्नेछ ।”
भक्तपुरलाई ग्रीन सिटीको रुपमा विकास गर्दै हरियालीयुक्त सहर बनाउने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान सुरु भई विरुवा रोपेको बताउदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरी बिस्तार गर्ने भनाई राख्नुभयो ।
कार्यक्रमका सभापति एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट सुरु भएको बताउनुभयो । चिनियाँ कम्पनी ग्यान्सू नेचूरल इनर्जी रिसर्च इन्स्टिच्यूटका २५ लाख रुपैयाको लगानीमा सडकमा सौर्य बत्ती जडान गरिएको सापकोटाले बताउनुभयो । उहाँले बत्ती जडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियान समेत अगाडि बढाइने बताउनुभयोे । (तस्विर संलग्न छ ।)