काठमाडौं,२८ श्रावण । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का छोराको नाममा अरबोँ रुपैँया रहेको भन्ने खबर पुष्टि गर्न चुनौती दिइएको छ ।
उहाँको निजी सचिवालयले मंगलबार विज्ञप्ति निकालेर छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न उहाँ केही दिनअघि दुबई गएको भन्ने कुराको भत्र्सना गर्दै खबर पुष्टि गर्न चुनौती दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न पनि चुनौती दिइएको छ ।’
जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयास भैरहेको र अध्यक्ष प्रचण्डको बदनाम गर्न प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने हल्ला फैलाइएको विज्ञप्तिमा भनिएको छ ।