
काठमाडौं, ३२ श्रावण । वरिष्ठ अभिनेत्री तथा नाट्यकर्र्मी सुभद्रा अधिकारीको निधन भएको छ । वि.सं. २००३ सालमा गायिका नूरा देवीको कोखबाट जन्मिनुभएकी उहाँको ७३ वर्षको उमेरमा शनिबार निधन भएको हो । अधिकारीको शनिबार बिहान ८ बजे निजी निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभएको छ ।
२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गर्नुभएकी उहाँकोे पहिलो नाट्य अभिनय ‘कची मचा’ हो । यसपछि उहाँले नाट्य अभिनयमा लामो समय बिताउनुभएको थियो । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटक उहाँले अभिनय गर्नुभएको छ । उहाँले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ हो । निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उहाँलृ अभिनय गर्नुभएको पहिलो चलचित्र हो ।
उहाँले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसूत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत चलचित्रमा अभिनय गगर्नुभएको थियो । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।






